कान्तिपुर अन्तर्राष्ट्रिय कलेजका बीबीए चौथो सेमेस्टरका विद्यार्थीहरूले भक्तपुर जिल्ला अदालतको शैक्षिक भ्रमण सम्पन्न गरे – Kantipur International College Management

Published on August 26, 2024

कान्तिपुर अन्तर्राष्ट्रिय कलेजका बीबीए चौथो सेमेस्टरका विद्यार्थीहरूले “व्यवसायको कानुनी पक्ष” विषय अन्तर्गत भक्तपुर जिल्ला अदालतको शैक्षिक भ्रमण सम्पन्न गरेका छन्। भ्रमणका क्रममा विद्यार्थीहरूले अदालतको कार्यप्रणाली, कानुनी प्रक्रियाहरू, र न्यायाधीशहरूको भूमिका तथा जिम्मेवारीबारे गहन अध्ययन गरेका छन्।

यस शैक्षिक भ्रमणको संयोजन र मार्गदर्शन अधिवक्ता अनु श्रेष्ठद्वारा गरिएको थियो। अधिवक्ता श्रेष्ठले विद्यार्थीहरूलाई नेपालको न्यायिक प्रणाली, कानुनी प्रक्रिया र व्यवसायमा कानुनी नियमहरूको महत्त्वबारे जानकारी गराउनु भएको थियो। विद्यार्थीहरूले कानुनी प्रक्रियामा व्यावहारिक ज्ञान हासिल गर्दै, व्यवसायको कानुनी पक्षप्रति गहिरो समझदारी प्राप्त गरेका छन्।

विद्यार्थीहरूले भ्रमणलाई अत्यन्तै लाभप्रद अनुभवको रूपमा लिएका छन् र कानुनी पक्षमा आफ्नो ज्ञानलाई थप सुदृढ गर्न सहयोगी रहेको प्रतिक्रिया दिएका छन्। कान्तिपुर अन्तर्राष्ट्रिय कलेजले यस्ता शैक्षिक भ्रमणहरूलाई निरन्तरता दिँदै, विद्यार्थीहरूको व्यावसायिक तथा कानुनी ज्ञानमा थप बृद्धि गराउने योजना अगाडि बढाइरहेको छ।